चार सत्य

लेखक: मिलन बगाले

—————————————-

राजतन्त्रको जरोमुलो मास्सिदा,

सामन्तीतन्त्रले नेटो काटने

हावाका रङ्गीचङ्गी वेलूनहरु

टायरले किच्न लागिसके

कमरेड पजेरो रोक,

हावाको वेलूनभित्र

तिम्रो सक्कली अनुहार र

जनताका अटेसमटेस सपना छन

पानीको फोकोझै फुट्ला !

——————————

लुटन तिमिले सिकायौ

लुछ्न तिमिले सिकायौ

गरेर होईन,

खोसेरै खान सिकायौ

कालो सिसाभित्र बसेर

कमरेड ज्यादती रोक्छु नभन

वाईसिएले तिम्लाई नै कुटला!

————————

र्सवहाराको नेता भनेको

सवैतिर हार्नु हैन,

र जनता भोकै राखेर

एक्लै तर् मार्नु हैन,

कमरेड बादल मडारिदैछ ,

हिउदमा छाता सिईराख

बर्खामा पानीले चुटला !

————————

गाडी चढ्यौ खाट चढ्यौ

घोडा बनाई जनतालाई

दशबर्ष ढाड चढ्यौ

कोशी फुट्यो कर्णाली फुट्यो

दुख पिडाको मुल फुट्यो

तर तिम्रो हृदयको पथ्थर फुटेन

हातमा हतौडा बोकेर

कमरेड खप्पर फोर्छु नभन

धागाको डोरीजस्तो

नेपालीको धैर्यको बाध टुट्ला !